बझाङ: विषाक्त मदिरा सोफीको सेवनबाट २ जनाको मृत्यु, २ गम्भीर बिरामी

बझाङ : बझाङको तल्कोट गाउँपालिका– २, कुँवरगाउँका दुई जनाको अत्यधिक मदिराको सेवनबाट मृत्यु भएको छ भने २ जना गम्भीर बिरामी अवस्थामा उपचार भइरहेको छ । मृत्यु हुनेमा कुँवरगाउँका ४४ वर्षीय धनबहादुर कुँवर र गिरी आउजी रहेका छन् ।

कुँवरगाउँका धनबहादुर कुँवर घाँटीभित्रको भाग सुन्निएर गम्भीर अवस्थामा जिल्ला अस्पताल भर्ना भए । उपचार गर्दागर्दै उनको २६ माघमा जिल्ला अस्पताल सिमखेतमा मृत्यु भयो । धनबहादुरको बारेमा जिल्ला अस्पतालको टोलीले स्थानीयसँग बुझ्दा गुणस्तरहीन मदिरा सोफी सेवन गर्ने गरेको थाहा भयो । घाँटीमा समस्या आएका कारण उनले ७ दिनसम्म खाना नखाएको स्थानीयले अस्पतालको टोलीसँग बताए ।

त्यस्तै, २९ माघमा कुँवरगाउँकै गिरी आउजी पनि पटक–पटक बेहोस हुने, पेट दुख्ने, श्वास फेर्न गाह्रो हुने समस्या लिएर जिल्ला अस्पताल भर्ना भए । उनलाई अस्पतालले केही बेरपछि अन्यत्र रेफर ग¥यो । उनको धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको तल्कोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले बताएका छन् ।

त्यस्तै, २७ माघमा सोही गाउँका ४२ वर्षीय रणबहादुर कुँवर र ४० वर्षीय सुरेन्द्र कुँवर पनि उस्तै समस्या लिएर जिल्ला अस्पताल भर्ना भए । उनीहरू दुवै जनालाई अस्पतालले सेती प्रादेशिक अस्पताल धनगढी रेफर ग¥यो । उनीहरूको स्वास्थ्य स्थितिमा केही सुधार आएको जानकारी आफूलाई प्राप्त भएको स्वास्थ्य कार्यालय बझाङका महामारी नियन्त्रण प्रमुख तथा ल्याव टेक्निसियन नारायण जोशीले बताएका छन् ।

यसरी एउटै प्रकृतिका बिरामीहरू जिल्ला अस्पतालमा आउन थालेको र महामारीको हल्ला चलेपछि स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशी, जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर रोशन श्रेष्ठ, स्वास्थ्य कार्यालयका महामारी नियन्त्रण प्रमुख तथा ल्याव टेक्निसियन नारायण जोशीलगायतको टोलीले औषधि उपकरणसहित तल्कोट गाउँपालिका– २, कुँवर गाउँको स्थलगत भ्रमण ग¥यो ।

गाउँका ७२ जनाको स्वास्थ्य परीक्षण गर्दा कुनै त्यस्तो रोग नभेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । टोलीसँग त्यहाँका स्थानीयले मृतक र बिरामीले अत्यधिक रूपमा सोफी नामको गुणस्तरहीन मदिरा सेवन गर्ने गरेको बताएका छन् । एउटै गाउँका चार जना एउटै लक्षणका बिरामी भएपछि बाहिर महामारी भएको एकाएक हल्ला फैलियो । तर, अस्पताल स्रोतले भने हल्लाको पछि नलाग्न आग्रह गर्दै एक प्रतिवेदन प्रकाशित गरेको छ । ग्रामीण भेगमा अहिले गुणस्तरहीन मदिरा खुलेआम बिक्रीवितरण भइरहेकाले सचेत रहन पनि जिल्ला अस्पतालले आग्रह गरेको छ ।

Loading...