पुर्नगठित माओवादी केन्द्र डडेल्धुराले मनायो २५ औं जनयुद्ध दिवस

डडेल्धुरा: पुर्नगठित नेकपा (माओवादी केन्द्र) डडेल्धुराले २५ औं जनयुद्ध दिवस मनाएको छ । जिल्ला सदरमुकामस्थित डडेल्धुरा अस्पताल र चिरञ्जिवी पोलीक्लिनिकमा उपचार गराइरहेका बिरामीहरूलाई फलफूल वितरण गरेर माओवादी केन्द्रले बिहीबार दिवस मनाएको हो ।

पुर्नगठित नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा डडेल्धुरा र डोटी जिल्ला इन्चार्ज नवराज धिक्तको अगुवाइमा सो पार्टीका जिल्लास्तरीय नेता कार्यकर्ताहरुको सहभागितामा दुबै अस्पतालमा पुगेर बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।

अस्पतालका बिरामीहरुलाई फलफूल वितरणसँगै जिल्लास्तरमा विभिन्न कार्यक्रमका साथ २५ औं जनयुद्ध दिवस मनाइएको उनले जानकारी दिएका छन् । तत्कालीन नेकपा माओवादी केन्द्र (प्रचण्ड समूह) र तत्कालीन नेकपा (एमाले) बीच एकीकरण भई नयाँ पार्टी नेकपा दर्ता भएपछि रुष्ट रहदै आएका नेता कार्यकर्ताहरुको भेलाले गोपाल किराँतीको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) पुर्नगठन गरिएको उनले बताएका छन् ।

नेता धिक्तले जनयुद्धले उठान गरेका सवालहरुको सम्बोधन हुन नसकेकाले नेपाली क्रान्तिको झण्डा नयाँ सिराबाट उठाउँदै मुलुकमा जनवादी गणतन्त्रसहितको साम्यवादी शासन व्यवस्था स्थापित गर्न आवश्यक रहेको जिकिर गरे ।

प्रचण्डले पार्टी परित्याग गरेको आरोप लगाउँदै आफूहरु अब रुपान्तरणसहितको नेकपा माओवादी केन्द्रको निर्माणमा लागि परिरहेको केन्द्रीय सदस्य धिक्तले बताएका छन् । जनयुद्धद्वारा स्थापित माओवादी कम्युनिष्ट आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता स्वरुप नेकपा माओवादी केन्द्र, पूर्नगठन गरिएको बताउँदै नेता धिक्तले शहीदको रगतसँग सत्ता साटेका अवसरवादी नेताहरुले जनयुद्धप्रति गद्दारी गरेको आरोप लगाएका छन् ।

Loading...