बस दुर्घटना : तीन महिलाको मृत्यु भएको पुष्टि

बिहीबार यूएईको अबुधावीमा भएको मिनीबस दुर्घटनामा मृत्यु हुने ६ मध्ये तीन जना नेपाली महिला रहेको पुष्टि भएको छ । मृत्यु हुनेमा बाराको निजगढ–३ की अमिसा मोक्तान, प्युठानकी भावना कुँवर र झापाकी कृष्णकुमारी अधिकारी रहेका छन् ।

दुर्घटनामा परेर श्रीलंकाकी एक महिला र पाकिस्तानी गाडी चालक पुरुषको मृत्यु भएको छ । बिहीबार बिहानै भएको सो दुर्घटनामा परेर घाइते हुनेमा नेपाली पनि रहेकाे थाहा भएकाे छ ।

घाइते १४ जनामध्ये पाँच जनाको आबुधावीको खालिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा इलामकी सीता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको टिस्टुङ पालुङकी रीता शिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्मा (ठेगाना नखुलेको) को माफ्राक अस्पतालमा उपचार भइरहेको छ ।

त्यही अस्पतालमा उपचारत चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीबार साँझ नै कम्पनीको क्याम्प फर्किएकी छिन् । त्यस्तै, मकवानपुर हेटौंडाकी मीना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्माको अलरहा अस्पतालमा उपचार भइरहेको छ । घाइते १२ जनाको अवस्था सामान्य रहे पनि नुवाकोटकी सरिता तामाङको अवस्था भने चिन्ताजनक रहेको अस्पताललाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।

Loading...